९ चैत २०८२, शुक्रवार

भर्खरै

स्वास्थ्य | दोलखा

दोलखामा शिक्षकहरूलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण

विद्यालयमार्फत समुदायसम्म स्वास्थ्य सन्देश फैलाउने लक्ष्यसहित एकदिने कार्यक्रम सम्पन्न

हेर्दाहेर्दै डेस्क ५ चैत २०८२, बिहिवार
दोलखामा शिक्षकहरूलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण

News Summary


  • दोलखामा शिक्षकहरूलाई लक्षित गरी क्षयरोग (टिबी) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा टिबीको पहिचान, रोकथाम, उपचार र निःशुल्क सेवाबारे विस्तृत जानकारी दिँदै विद्यालय तथा समुदायमा सचेतना फैलाउन शिक्षकहरूको भूमिकामा विशेष जोड दिइयो।

दोलखा । दोलखामा शिक्षकहरूलाई लक्षित गर्दै क्षयरोग (टिबी) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय दोलखाको प्राविधिक सहयोगमा नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखा र गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

भिमेश्वर नगरपालिका–२ स्थित दोलखा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयबाट २३ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले गरेका थिए भने सभापतित्व नेपाल क्षयरोग निवारण संस्था दोलखाका अध्यक्ष तीर्थबहादुर जोशीले गरेका थिए।

कार्यक्रममा भिमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य मुना श्रेष्ठ प्रमुख अतिथि तथा गौरीशंकर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाल विशेष अतिथिका रूपमा सहभागी थिए।

अभिमुखीकरणका क्रममा क्षयरोगको पहिचान, रोकथाम, उपचार प्रक्रिया, जोखिम समूह तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। नेपालमा अझै पनि क्षयरोग गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको र देशभरि हजारौँ मानिस प्रभावित भइरहेका तथ्य प्रस्तुत गरिएको थियो।

दोलखा जिल्लामा समेत क्षयरोगका बिरामी भेटिँदै आएको र भिमेश्वर नगरपालिका उच्च जोखिममा रहेको क्षेत्रमध्ये एक भएको जानकारी दिइएको थियो।

कार्यक्रममा दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्ने, नियमित औषधि सेवन गरे क्षयरोग पूर्ण रूपमा निको हुने तथा उपचारमा ढिलाइ भए एक जना बिरामीले वर्षमा १० देखि १५ जनासम्मलाई संक्रमण सार्न सक्ने तथ्य प्रस्तुत गरिएको थियो।

साथै, नेपाल सरकारद्वारा देशभरका सरकारी स्वास्थ्य संस्थाबाट क्षयरोगको जाँच तथा उपचार निःशुल्क उपलब्ध रहेको जानकारी पनि दिइएको थियो।

कार्यक्रममा विद्यालयमार्फत विद्यार्थी र परिवारसम्म स्वास्थ्य सन्देश पुर्‍याउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने विषयमा विशेष जोड दिइएको थियो। शिक्षकहरूले विद्यालयमा सही जानकारी दिने, लक्षण भएका विद्यार्थी पहिचान गर्न सहयोग गर्ने र समुदायमा रहेको भ्रम तथा कलंक हटाउन भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।

सहभागी शिक्षकहरूले कार्यक्रमलाई उपयोगी र व्यवहारिक भएको बताउँदै सिकेका ज्ञानलाई विद्यालय र समुदायमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

65 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट