समाज परिवर्तनका लागि साहित्यको भूमिका ठूलो छ : अध्यक्ष थोकर
साहित्य समाजको ऐना हो, स्थानीय तहले संरक्षण गर्नुपर्छ : अध्यक्ष थोकर
हेर्दाहेर्दै डेस्क
१ माघ २०८२, बिहिवार
400
SharesNews Summary
* दोलखामा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले 'प्रदेय' साहित्यिक पत्रिकाको १५औँ अङ्क सार्वजनिक गर्यो।
* मेलुङ गाउँपालिकाका अध्यक्षले समाजको चेतना र विकासमा साहित्यको महत्त्वबारे प्रकाश पारे, साथै यसको संरक्षणमा स्थानीय तहको भूमिकामाथि जोड दिए।
* कुल १२८ पृष्ठको यस अङ्कमा ४३ जना विभिन्न साहित्यकारका विविध विधाका लेख-रचनाहरू समेटिएका छन्।
दोलखा । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाले आफ्नो नियमित प्रकाशन ‘प्रदेय’ साहित्यिक पत्रिकाको १५औँ अङ्क सार्वजनिक गरेको छ । माघे सङ्क्रान्तिको अवसर पारेर बिहीबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच पत्रिकाको नयाँ अङ्क लोकार्पण गरिएको हो ।
पत्रिका सार्वजनिक गर्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले समाजको चेतना स्तर उकास्न र समग्र विकासमा साहित्यको भूमिका अतुलनीय हुने बताए । पछिल्लो समय साहित्यिक गतिविधिहरू सुस्ताउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “साहित्य समाजको ऐना हो, यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले विशेष ध्यान दिनु आवश्यक छ ।”
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पत्रकार गोकर्ण भण्डारीले गरेका थिए ।
कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्णबहादुर वस्नेत, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार जीवन लामा, प्रगतिशील लेखक सङ्घ दोलखाका अध्यक्ष तारा बीएम तथा साहित्यकार सुशीला शर्माले मन्तव्य राख्दै पत्रिकाको निरन्तरताको कामना गरेका थिए ।
कुल १२८ पृष्ठ रहेको ‘प्रदेय’ को यस १५औँ अङ्कमा ४३ जना विभिन्न साहित्यकारका विविध विधाका लेख–रचनाहरू समेटिएका छन् । समितिले लामो समयदेखि दोलखामा रहेर साहित्यको उत्थानमा कार्य गर्दै आएको छ ।
400 Shares
हेर्दाहेर्दै डेस्क